आईतवार, बैशाख ५, २०७८
/
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज गरिदैँ ,सुरुङ्ग भरिन १६ दिन लाग्ने ।
१० फागुन २०७७
  प्रसिद्ध खबर

फागुन १०, सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमवारदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । 

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गर्न लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । 

‘विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो,’ आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले भने ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । 

उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए । रासस

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA