बुधबार, माघ ७, २०७७
/
हिन्दु धर्मशास्त्रमा दशैमा पशुबली र यसको मान्यता
१ कार्तिक २०७७
  प्रसिद्ध खबर
#हिन्दु_धर्म 
#बलिप्रथा
#धर्मशास्त्र

हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्नेबुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो। शंख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतालम्वीहरू भएको देश भारत हो। ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दु हो ।

कतिपय सज्जन ‘हिं’ को अर्थ ‘हिंसा’  र ‘दु’ को अर्थ ‘दुर’ लगाउँछन्। तर आजको नेपाली हिन्दू समाजमा हिंसालाई पनि धर्मको एउटा अंग हो भन्ने ढंगबाट व्याख्या गरिएको छ। जबकि हाम्रा प्राय : जसोसबै शास्त्रमा हिंसाको निन्दा गरिएको छ। हत्याको विरोध गरिएको छ। प्राणीको हितका लागि आह्वान गरिएको छ। तर आफूलाई हिन्दू बताउने हामीहरू पुजापाठका लागि मन्दिर र तिर्थ धाउँछौँ तर पवित्र इश्वरको मुल मन्दिर अर्थात् आफ्नो शरिरलाई चाहीँ शास्त्रले खान वर्जित गरेको ‘अभक्ष’ खान्छौं। त्यतिमात्र होइन, मन्दिरमै प्राणीको हत्या गर्छौं। कतिसम्म भने हामी आराध्यदेव भगवान पशुपतिलाई धुपदिप नैबेद्यका साथ पुज्छौँ तर पशुहरूका नाथ, पशुहरूका संरक्षक भगवानलाई पुजेर घर फर्केर बोल्न नसक्ने साना बालबच्चाजस्तै निर्दोस पशुहरूलाई मारेर प्राप्त हुने अभक्ष या माशुको भोजन गर्छौं। हेरौँ, शास्त्रमा मांशभोजन र पशुबलिबारे के लेखेको छ ? 

नेदन्योऽन्यं हिनुसात (वेद शतपथ ब्रा. १।१।४।५)
एक प्राणीले अर्को प्राणीको हिंसा, मारकाट गर्नुहुँदैन। 

हिंसा विना न वै मांसं नान्ननाशं विना सुरा।
आत्मानाशावकालाश्यामन्त्रणौँ नारकाबुभौ।। (वेदानुसासन १०८)
काटमार नगरी माशु बन्दैन, अन्न नाश नगरी जाँडरक्सि बन्दैन। अत : जिवात्मा नास्ने, नरक पार्ने, अकालमा नै काल निम्त्याउने माशु र जाँडरक्सि खान आजै छाड।  

आत्मनो जीवनं धर्तुंकथ मन्यं प्रघातयेत्। 
हिंसां विना नैव मांसं दया हेन विहन्यते।।   (वेदानुसासन १०९) 
आफ्नो जीवन जोगाउन अर्काको जीवन कसरी हर्नु ? काटमार नगरी माशु बन्दैन। हिंसा गर्नाले दया माया मर्दछ। 

वर्षे वर्षेऽयमेधेन यो येजेत शतं समा :।
यस्तु मांसं न खादेत तयो : पुण्यफलं समम्।।  (महाभारत अनु.११५)
लाखौँ लाखौँ खर्च गरेर सय वर्षसम्म अश्वमेध यज्ञ गरेको फल र हिंसा हत्या त्यागेर माशु नखाएमा बराबरी धर्म हुन्छ। 

प्राणा वै विश्वदेवा  : 
प्राणधारी प्राणीहरू नै सबै देवदेवीहरू हुन्। (काठक संहिता-वेद २।३०।२) 

मा दुषमिति मानुषमित्याचक्षते। (ऐतेरेय ब्राम्हण-वेद ३।३३)
म अरुलाई दुख नदिउँ भन्ने अर्थमा मानिस (मानुष) शब्द बनेको हो। 

ममैवांशो जीवलोके जीवभुत : सनातन। (गीता १५।७) 
भगवान कृष्ण भन्नुहुन्छ-जीवलोकमा जे जति छन्, ती मेरै अंश हुन्।   

येषां मांसं नरोऽश्नाति तेऽन्यजन्मानि तं नरम्। 
पशुरुपं मारयन्ति निर्दया निर्दयं तथा।। (वेदानुशासनम् ११३) 
अर्थात् जो जसले जस जसको माशु खाएको छ, त्यो त्यसलाई तीती पशुले पनि त्यसै नगरी अर्को जन्ममा मार्छन्। 

यो यस्य मांसमश्नाति तस्य बुद्धिस्तथा भवेत्। 
आहारेणैव संसारे वुद्धि  :  सञ्जायते क्रमात्।। (वेदानुशासनम् ११२)
जसले जुन प्राणीको माशु खान्छ, त्यही प्राणीकै जस्तै बुद्धि र बानी व्यहोरा हुन्छ।

प्राणै  : स्वै प्राणिन  : पान्ति साधव  : क्षणभंगुरै  :।। (श्रीमद्भागवत स्कन्ध ८।अ. ७ श्लोक३९)
सज्जन पुरुष आफ्नो क्षणभंगुर प्राणको बलि दिएर भए पनि अन्य प्राणीको प्राणको रक्षा गर्दछन्। 

सर्वभूतेषु यो विद्धान ददात्यभयदिक्षणम्।
द्याता भवति लोके स प्राणानां नात्र संशय।। (महाभारत अनु. ११५।१८)
जुन विद्धान सबै जीवलाई अभयदान दिन्छन्, तिनलाई नै यो संसारमा निस्सन्देह : प्राणदाता मानिएको छ। 

न त्वहं कायमे राज्यं न स्वर्ग नापुनर्भवम्। 
कायमे दु :ख तत्पतानां प्राणिनामार्तिनाशनम्। (श्रीमदभाग्वत् ९।२१।११)
न त मलाई राज्यको कामना छ, न स्वर्गको र मोक्षको नै अभिलाषा छ, म त केवल दुखले पिडित प्राणीहरूको कष्ट निवारण होस् भन्ने चाहन्छु। 

पुत्रोमांसोपमं जानन् खादते योऽविचक्षण  : ।
मांसं मोहसमायुक्त  : पुरुष सोँऽधम : स्मृत  :।। (महाभारत.अनु. ११४।११) 
आफ्नो छोराको मासुमा र अन्य प्राणीको मासुमा केही फरक छैन, तथापी मोहवश माशु खान्छ भने त्यो मानिस नराधम हो।

स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति। 
नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर :।। (महाभारत अनु ११६।७)  
अर्काको माशुले जो आफ्नो मासु बढाउन चाहन्छ , उभन्दा नीच अरु कोही छैन। उ निर्दयी हो।   

मांसभक्षै सुरापानैर्मुर्खचाक्षरवर्जितै। 
पशुभि : पुरुषाकारै भाराक्रान्तास्ति मेदिनी।। (चाणक्यनिती ५।२२) 
माशु खाने, मदिरापान गर्ने अज्ञानीहरू मानिसका आकारमा रहेका पशुहरूका भारले पृथ्वी पिडितै छ।  
         
अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी।
संस्कत्र्ता चोपहर्ता च खादकश्चेति घातका  :।। (मनुस्मृति ५।५१)
मार्नलाई सल्लाह दिने, जीवलाई मारेर टुक्राटुक्रा पार्ने, जीवलाई मार्ने, मासु किन्ने, मासु बेच्ने, मासु पकाउने, मासु पस्किने र मासु खाने यी आठ किसिमका मानिसलाई पशुहत्याको दोस लाग्दछ।
 
यदि चेत् खादको न स्यान्न तदा घातको भवेत्।
घातक  : खादकार्थाय तद्धतयति वै नर।। (महाभारत अनु. ११५।२९) 
यदि कसैले पनि माशु नखाने हो भने पशुपंक्षीको हिंसा हुँदैनथ्यो। खानेहरूकै कारण क्रुर कर्म भइरहेको छ। 

न भक्षयति यो मांसं विधिं हित्वा पिशाचवत्। 
स लोके प्रियतां याति व्याधिभिश्च न पिड्यते।।  (मनुस्मृति ५।५०)
जसले जुनसुकै प्रकारले पनि पिशाच जसरी मासु खाँदैन वा मासु खान छाड्छ, उ यो लोकमा पनि सबैको प्रिय बन्दछ र रोगहरूले पनि पीडित हुँदैन। 

सर्वान् कामानवाप्नोति अश्वमेघफलं तथा।
गृहेऽपि निवसन्विद्धान्मुनि मांसविवर्जनात्।। (वाक्यवल्क्यस्मृति ७।१८०)
जो मासु खाँदैन, उ गृहस्थी भए पनि ज्ञानवान ऋषि हो, त्यस्ताको सम्पुर्ण कामनाको तृप्ति हुन्छ र उसलाई÷उनलाई अश्वमेघ यज्ञको फल प्राप्त हुन्छ। 

निहतस्य पशोर्यज्ञे स्वर्गप्राप्तिर्यदीष्यते।
स्वपिता यजमानेन किन्नु तस्मान्न हन्यते।। (विष्णुपुराण, ३।१८।२७)
यदि यज्ञमा बलि दिएर प्राणीले स्वर्ग प्राप्त गर्ने भए यजमान आफ्नो बाउलाई हवन गरेर किन स्वर्गमा पठाउँदैनन् ? 

न मांसमायुषो हेतु नारोग्यस्य न चौजस  : (ब्रम्हपुराण १०७।६४)
मासु न आयु बढाउँछ न आरोग्यता दिन्छ, न यसले ओज बढाउँछ। अर्को अर्थमा भन्ने हो भने मासुबाट आयु, आरोग्य, शक्ति आदि केही प्राप्त हुँदैन। बरु अनेक प्रकारका रोगहरूले शरीरलाई ग्रस्त र घातक बनाउँछन्। 

मद्यपानेन मनुजो यदि सिद्धिं लभेत वै।
मद्यपानतरता  : सर्वे सिद्धिं गच्छन्तु पामरा  :।।
मांसभक्षणमात्रेण यदि पुण्या गतिर्भवेत् 
लोके मांसाशिन  : सर्वे पुण्यभाजो भवन्ति हि।। (कुलार्णवतन्त्र २।११।७-८)
यदि जाँडरक्सिले मानिसलाई सिद्धि मिल्ने भए सबै जँड्याहाहरूले सिद्धी प्राप्त गर्दथे। त्यस्तै, मासु खानाले पुण्य मिल्ने भएदेखी मासुु खाने सबै चील,  गीद्ध र स्याल आदी जीवहरू पुण्यका भागी बन्थे।  

इज्यायज्ञश्रुतिकृतैर्योमार्गैरबुधोऽम  :।
हन्याज्जन्तून् मांसगृध्नु : स वै नकरभाङ नर  :।। (महारभारत अनु ११५।४७)
देवताको पुजा, यज्ञ तथा वेदोक्त मार्गको आधार लिएर जो व्यक्ति मांशको लोभले जीव बध गर्दछ, त्यो अज्ञानी र मूर्ख मानिस नरक जान्छ। 

यावन्ति पशुरोमाणि तावत्कृत्वोहि मारणम्। 
वृथा पशुध्न : प्राप्नोति प्रेत्य जन्मनी जन्मनी।। (मनुस्मृति ५-३८।)
पशु वध गर्ने व्यक्ति त्यो जनावरको शरिरमा भएका रौँको शंख्याजति जन्मान्तरसम्म नरकमा दुख भोग्नेछ र प्रत्येक जन्ममा आफु पनि मारिनेछ।    

तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन्। संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुर्नजन्म हुने कुरा श्रीमद्भागवतमा छ। बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ। संयक आजीविका अन्र्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ। भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ। 

कतिपय सज्जन ‘हिं’ को अर्थ ‘हिंसा’  र ‘दु’ को अर्थ ‘दुर’ लगाउँछन्। तर आजको नेपाली हिन्दू समाजमा हिंसालाई पनि धर्मको एउटा अङ्ग हो भन्ने ढंगबाट व्याख्या गरिएको छ।

तर पशुहिंसाबाट प्राप्त हुने मासु आफूलाई हिन्दू बताउने र वौद्ध बताउने धेरैले खाने गरेका छन्। जिभ्रोलाई नियन्त्रण गर्न नसक्ने उनीहरू बुद्धले समेत मासु खाएका थिए भनेर तर्क गर्छन्। चलन र प्रथाको कुरा झिक्छन्। तर सनातन शास्त्र प्राणीमैत्री छ। सनातन शास्त्रहरूमा प्राणी मारेर बलि दिने कुरो उल्लेख गरेकै छैन। शास्त्रले त रिस, राग, लोभ, मोह, मद  र मात्सर्य जस्ता पशुको जस्तो गुणलाई त्याग्नु पो भनेको छ।  

सबै सन्दर्भको सार हो, हामी कमाउने नाउँमा, ज्यान हाल्ने नाममा, कतिपय ठाउँमा भगवानकै नाम लिएर प्राणीहत्या गरिरहेका छौँ र धर्मको खिल्लि उडाइरहेका छौँ। हामीलाई वर्षौँदेखी त्यस्तै चलन र स्वाद सिकाइयो। हामीलाई त्यही सही लाग्दै गयो। हामी स्वाद र चलनमा अल्मलिँदै गयौँ। तर थोरै प्रयास गर्ने हो भने हाम्रो सनातन करुण दर्शनको पालना हुनेछ। फेरि मासु नखाँदा शरीरलाई कुनै हानि छैन। विज्ञानले धेरै अघि प्रमाणित गरिसकेको छ कि वनस्पतिबाट प्रोटिन, भिटामिनलगायत आवश्यक तत्व वनस्पतिबाटै सम्भव छ। 

पशुबाट प्राप्त हुने प्रोटिन र फ्याट रोगका कारण भएको पनि प्रमाणित भईसकेको छ। त्यसमाथि, गाई, घोडा, भैंसी, हात्ति, अर्ना र मृगलगायत हजारौं प्राणीहरू केवल वनस्पति भोजन गर्छन् र उनीहरू अत्यन्त बलिया छन्। हामीले मारेर खाने प्राय  : सबै पशु स्वयं विशुद्ध शाकाहारी (भिगन) हुन्। हामीहरू जस्तो उनीहरू बुढो हुन्जेलसम्म अन्य पशुबाट प्राप्त हुने मासु, दहीदूध, घिउ, मोही पनिर, बटर, चिज केही पनि खाँदैनन्।    

र, हामी एक जनाले मात्र माशु छोड्दा हाम्रो जीवनकालमै हजारौँ पशुपन्छी मारिनबाट बच्नेछन्। पशु उद्योगको अत्याचार, निर्दयता र हिसा पनि कम हुनेछ। त्यसैगरी मदिरा सेवन गर्न छाड्यौँ भने हजारौँ हजारौँ रक्सि बनाउन प्रयोग हुने अन्न जोगिनेछन् र भोकबाट ग्रस्त मानव र अन्य प्राणीले त्यो अन्न खान पाउनेछन्। प्राणीहिंसा छाडेर सबै प्राणीका शरीरमा शक्ति, करुणा र माताका रूपमा रहेकी जगत्माता दुर्गाको सही पुजन गर्ने कि ? जय अहिंसा। जय सनातन धर्म । 
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA