आईतवार, बैशाख ५, २०७८
/
‘९० सालं भोखा ब्वउ भले जी झिदा दौ का।’ -राधादेवी जोशी (श्रीमती सत्य मोहन जोशी )
पुष २५,२०७७
  सोनि शाही /Kathmandu Press

‘९० सालं भोखा ब्वउ भले जी झिदा दौ का।’

अर्थात् ९० सालको भूकम्प आउँदा १० वर्षकी थिएँ । ‘कति वर्ष पुग्नु भो’ भन्ने जिज्ञासामा राधादेवी जोशीले मुहारमा उही १० वर्षे निर्दोष भाव ल्याएर उत्तर दिइन् । यस हिसाबले उनी ९७ पुगिन् । अर्थात् ९७ वटा हिउँद खाइन्। 

हिजो छाडी अस्ति (२३ पुसको दिन) दिउँसो उनी रातो बाक्लो स्वेटर, त्यसमाथि रातो पछ्यौरी र रातै फुलबुट्टै सारीमा सजिएर घरको ढोकानजिकै घाम तापिरहेकी थिइन्, गुराँस फुलेको पहाडजस्तै । शिरमा सेतै फुलेको कपालले हिमालको आभास दिन्थ्यो । छड्के घाम उनको ढोका भएर भित्र पनि पोखिएको थियो।  

उनी मेरै प्रतीक्षामा थिइन्, ‘काठमाडौं प्रेस’का लागि समय दिएकी थिइन् । उनको बाल्यकाल, विवाह, उनले भोगेको समयबारे कुरा गर्ने निधो भएको थियो । फोनमा कुरा हुँदा नेपालीभन्दा नेवारीमा खुलेकी थिइन् । नेवार सभ्यता र संस्कृतिको एउटा केन्द्र पाटन दरबारछेउ जन्मी–हुर्की र त्यहीँ नजिकै विवाह गरेकी उनी आफ्नै मातृभाषामा अभ्यस्त छिन् । फोनमा पनि नेवारीमा कुरा भएकाले उनी समय दिन राजी भएकी थिइन्। 

राधादेवी जाेशी पति सत्यमाेहनसँग

राधादेवी जाेशी पति सत्यमाेहनसँग

कान टाठा छन्, सियो खसेको आवाज पनि सुन्छिन् । आफ्नो उमेर–अवस्थाबारे उनी भन्छिन्, ‘एउटा दाँत हल्लिएको छ, अर्को भर्खरै उम्रन थालेको छ।’ 

उनलाई आफ्नो जन्म साल सम्झना छैन, जन्मतिथि भने याद छ– ज्यापुन्हि (जेष्ठ शुक्ल पूर्णिमा)को अघिल्लो दिन। 

‘म पनि त्यही दिन जन्मेकी हुँ । हाम्रो जन्मतिथि एउटै परेछ,’ मैले नेवारीमा भनेँ । एउटै जन्मतिथिले गर्दा पनि हामी कुराकानीका लागि अझ आत्मीय भयौँ। 

नेवार समुदायले चन्द्रमास मान्छ, तिथि अनुसार पर्व मनाउँछ । वर्षका १२ वटै पूर्णिमामध्ये अधिकांश पूर्णिमामा कुनै न कुनै मौलिक पर्व पर्छन् । सायद यसैले उनले आफ्नो जन्म तिथि सम्झिइन्। 

ज्यापुन्हि अर्थात् छुस्या–मुस्या (गहुँ, मकै, भटमास आदि) भुटेर खाने दिन । यस दिनलाई नेवारहरूले वर्षभरिकै सबैभन्दा लामो दिनको रूपमा लिन्छन् । कतै सुनिएको त छैन, यस दिन वरपर जन्मने मान्छेले लामो आयु बाँच्छ । तर, राधादेवी जोशीलाई हेर्दा यस्तै लाग्छ । दीर्घायु यदि प्रारब्ध, नियति वा भाग्य हो भने राधादेवी त्यस्ती भाग्यमानी हुन्, उनले आफ्ना पति (संस्कृतिविद् सत्यमोहन जोशी)सँग चारपटक ज्याः जंक्व (बूढाबूढी पास्नी) गरेकी छन्। 

व्यक्तिको उमेर ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पला पुगेपछि पहिलो भीमरथारोहण गरिन्छ । यसैलाई जंक्व भनिन्छ । दीर्घायुको यो एउटा उत्सव हो । दोस्रोपटकको जंक्व व्यक्तिको उमेर ८८ वर्ष, ८ महिना, ८ दिन पुगेपछि गरिन्छ, यसलाई देवरथारोहण भनिन्छ । तेस्रोपटकको जंक्व व्यक्तिको उमेर ९९ वर्ष, ९ महिना ९ दिन पुगेपछि गरिन्छ, यसलाई महारथारोहण भनिन्छ । श्रीमान्को पहिलो रथारोहणमा श्रीमतीको उमेर जति भए पनि श्रीमानसँगै भीमरथारोहण गराइन्छ । राधादेवीको जेठी छोरीको पनि जंक्व भइसकेको छ। 

राधादेवी जाेशी

राधादेवी जाेशी

सत्यमोहन जोशी (जन्मः ३० वैशाख १९७७)ले गएको वर्ष सयौँ जन्मदिन मनाए । उनलाई धुमधामसँग नगर परिक्रमा गराइयो । उनी सय वर्ष पुगेको खबर अधिकांश नेपाली मिडियाले प्रसारण गरे । झट्ट हेर्दा नेवार समुदायमा पुरुषभन्दा महिला संस्कारको बढी चर्चा हुन्छ– विशेषतः बाह्रा तयेगु (गुफा राख्ने), इहि (बेलविवाह)। 

रमाइलो त, राधाको बाह्रा संस्कार विवाहपछि गरियो । श्रीमान् संस्कृतिविद्, श्रीमती संस्कारको दृष्टान्त । यो कथामा उनीहरूको संस्कार र संस्कृतिलाई जोडेको भए अझ रोचक हुने रहेछ, तर कुराकानी गर्दा त्यो तयारी थिएन। 

भूकम्प

जन्मको कुरा गर्दा ९० सालको भूकम्पलाई सम्झने, जन्मदिनको कुरा गर्दा पर्व ज्यापुन्हि सम्झने– राधाको बाल्यकाल कस्तो हुँदो हो! 

उनको माइतीघर पाटनको कृष्ण मन्दिरपछाडि मंगल गल्ली (ममरु गल्ली) मा छ । बुवा व्यापारी र आमा गृहिणी भएकाले उनले बाल्यकाल अरुको तुलनामा खासै दुःख गर्नुपरेन । राणाकालमा छोरी पढाउने चलन थिएन । त्यसैले उनी घरनजिकै साथीहरूसँग कानकान पिच (लुकामारी) खेलेर दिन बिताउँथिन्।  

१९९० साल माघ २ गते दिउँसो, उनी लुकामारी खेल्ने सिलसिलामा तीनतले माटोको घरको सबैभन्दा माथिल्लो तलामा लुकेकी थिइन्, त्यही बेला भूकम्प आयो । घर हल्लन थालेपछि उनी डराएर बुवालाई पुकार्दै ओर्लिइन् र बाँच्न सफल भइन्, यता उनको घर ढल्यो । भाग्दा लडेर टाउकोमा चोट लाग्यो । उनी दाग देखाउँदै भन्छिन्, ‘यी यहाँ दाग छ नि!’ 

त्यो दिन १० वर्षीया राधाका लागि सबैभदा भयानक दिन थियो । वरपर थुप्रै घर भत्किएका थिए, कति मानिस पुरिएका थिए, कति घाइते थिए, एउटा रुवाबासीको क्षण थियो। 

सत्यमोहन जोशी र राधादेवीकाे पाटनस्थित घर

सत्यमोहन जोशी र राधादेवीकाे पाटनस्थित घर

भूकम्पपछि टोलका मान्छेहरू खाली चौरहरूमा पाल टाँगेर बस्न थाले । उनको परिवार पनि चौरमा बस्न पुग्यो । परिवारका पाका मानिस घर भत्केकामा दुःखी भए पनि केटाकेटी मन पुनः रमाउन थालिसकेको थियो, यस्तै त रहेछ भनेजसरी । उनको परिवार ६ महिनासम्म चौरमा बस्यो, यो अवधि उनले साथीहरूसँग खेलेरै बिताइन्। 

‘भूकम्प आएको तीन महिनापछि राजाका सिपाही आए,’ उनी सम्झिन्छिन्, ‘घर भत्किएकाहरूलाई प्रतिपरिवार तीन सय रूपैयाँ बाँडेका थिए । कसैलाई बोराको थैलीमा त कसैलाई कपडाको थैलीमा एक–एक मोहर चाँदीका सिक्का राखेर।’

विवाह

राधादेवीको विवाह भयो, बखुम्बहालका सत्यमोहन जोशीसँग । विवाह गर्दा राधाको उमेर १४ र सत्यमोहनको उमेर १७ वर्ष थियो। 

राधाको विवाहको कथा पुरानो चलचित्र वा उपन्यासको कथाजस्तै लाग्छ । उनकी आमा मोतीलक्ष्मी र सत्यमोहनकी आमा राजकुमारी (नुगलदेवी) बीच गहिरो मित्रता थियो । मोतीलक्ष्मी र नुगलदेवी हरेक बिहान कृष्ण मन्दिर जान्थे । नुगलदेवीले मोतीलक्ष्मीलाई सधैँ भन्ने गर्थिन्, ‘तिम्री छोरी र मेरो छोराको विवाह गर्नुपर्छ ।’ मोतीलक्ष्मीले छोरीको उमेर नपुगेको भन्दै टार्दै आएकी थिइन्। 

राधादेवीको उमेर १४ वर्ष पुग्यो भन्ने सुनेपछि नुगलदेवीले जिद्धी गरिन् र एकदिन मोतीलक्ष्मीको घर गइन्, राधादेवीलाई हेर्न । त्यतिबेला पनि राधादेवी साथीहरूसँग खेल्न गएकी थिइन् । बहिनीले ‘आमाले बोलाएर ल्याएको छ’ भनेपछि उनी घर आइन्। 

राधादेवी भन्छिन्, ‘घरमा नयाँ मान्छे देख्नेबित्तिकै लाजले भुतुक्कै भएँ । मलाई थाहा भइहाल्यो, पक्कै बिहेका लागि मलाई माग्न आएको हुनुपर्छ भनेर।’ 

सत्यमोहन जोशी र राधादेवी जाेशी

सत्यमोहन जोशी र राधादेवी जाेशी

उतिबेला सानै उमेरमा छोरीको विवाहको कुरा चल्थ्यो, विवाह हुन्थ्यो । यसरी राधादेवी र सत्यमोहनको बिहेको कुरा अगाडि बढ्यो। 

सत्यमोहनका परिवार विवाहको प्रस्ताव लिएर आए । त्यतिबेला घरमा आएका पाहुनालाई सत्कार स्वरूप हुक्का–चिलिम दिने चलन थियो । राधादेवीले नै हुक्का–चिलिम दिएकी थिइन् । परिवारबीच विवाहका विषयमा कुरा भइरहँदा उनलाई अगाडि राखिएन । तर, आमाले उनलाई सबै कुरा सुनाएकी थिइन्। 

त्यसको चार दिनपछि (१९९४ सालमा) राधादेवी र सत्यमोहनको विवाह भयो । घरदेखि नजिकैको दूरीमा उनी पाल्की चढेर गइन् । नजिकै भए पनि सत्यमोहन केटाकेटीदेखि नै पढ्ने र राधादेवी घरनजिकै मात्रै खेल्ने भएकाले आफूहरूको देखभेट नभएको राधादेवी बताउँछिन्। 

विवाहको दिन उनी रोइनन् । उनलाई बिहे पनि भाडाकुटी खेलजस्तै लागेको थियो । उनको विवाहकै दिन उनकी दिदी (काकाकी छोरी) को पनि विवाह थियो । अन्माउने बेला दिदी बेसरी रोइन् । उनी भन्छिन्, ‘दिदी रोएको देखेर मेरो पनि भक्कानो फुट्यो।’ 

विवाह हुनुअघिसम्म कुर्था–सुरुवाल लगाउने उनले विवाहको दिन दोपट्टा सारी लगाइन् । त्यसपछि घरमा सधैँ धोती, सारी लगाउनुपर्दा उनलाई केही अप्ठेरो महसुुस भएको थियो । माइतीमा जाँदा भने खेल्न सजिलो हुन्छ भनेर कुर्था–सुरुवाल नै लगाउँथिन्। 

विवाह अघिसम्म उनलाई खाना पकाउन आउँदैनथ्यो । विवाहपछि उनको दैनिकी फेरियो, खेल्न छाडेर भान्साको काम सिक्नुपर्यो । उतिबेला खानामा साग, सिमी, ढिँडो, गुन्दु्रक लगायत हुन्थे । घरमा पाहुना आउँदा भने उनीहरूको सत्कारमा दाल पकाउने गरेको उनी बताउँछिन्। 

विवाहपछि बाह्रा (गुफा) 

नेवार समुदायमा कन्यालाई रजस्वलाअघि गुफा (बाह्रा) राख्ने चलन छ । राधादेवीलाई भने विवाहपछि (१६ वर्षको उमेरमा) माइतीमा ल्याएर गुफा राखियो । गुफा राख्नुअघि यी दम्पतीबीच खासै बोलचाल हुँदैनथ्यो । दिनमा सत्यमोहन पढ्न जान्थे । रातमा राधादेवी सासुआमा वा नन्दसँग सुत्थिन्, सत्यमोहन बा वा भाइसँग । गुफा बसेपछि मात्र उनीहरूबीच कुराकानी हुन थाल्यो।  

विवाहको तीन वर्षपछि १७ वर्षको उमेरमा उनी पहिलो महिनावारी भइन् । महिनावारी हुँदा उनी माइतीमै थिइन् । कुर्था र सुरुवाल लगाएकी उनको सुरुवाल रगतले भिजिसकेको थियो, तर उनले पत्तो पाएकी थिइनन् । काकीले भनेपछि मात्र थाहा पाइन्। 

सन्तान

१९ वर्षको उमेरमा उनले पहिलो सन्तान छोरीलाई जन्म दिइन् । त्यसको तीन वर्षको अन्तरालमा छोरा जन्माइन् । यसरी दुई÷तीन वर्षको अन्तरालमा चार छोरी र चार छोरालाई जन्म दिइन् । तर उनको पहिलो सन्तानको आठ वर्षको उमेरमा अकालमै मृत्यु भयो भने दोस्रो सन्तानको पनि चिकेनपक्स रोगका कारण दुई वर्षको उमेरमा मृत्यु भयो।

विवाहपछि सत्यमोहन अध्ययन, अनुसन्धान, जागिरमा लागे । सत्यमोहन धेरैजसो घरबाहिर हुन्थे । बालबच्चाको स्याहारदेखि उनीहरूको पढाइलेखाइको जिम्मेवारी राधादेवीले उठाइन्। 

राधादेवी जाेशी

राधादेवी जाेशी

उनका ससुरा खरदार थिए, मोहनशमशेर जंगबहादुर राणाको बैठकमा । श्रीमान्को पनि सरकारी जागिर भएकाले उनलाई आर्थिक समस्याले कहिल्यै पिरोलेन। 

विवाहपछि राधादेवीले नन्दसँग लेखपढ सिकिन्– नाम लेख्ने, गीतसंगीतका किताब पढ्ने र प्रज्ञापारमिता पाठ गर्नेसम्म भइन् । देशमा प्रजातन्त्र आयो, छोरीले पनि पढ्न पाउने भए। 

उनले छोराछोरीलाई समान रूपमा पढाउन थालिन् । अहिले उनकी जेठी छोरी स्कुलमा अकाउन्टेन्ट भएर अवकाश जीवनमा छन्, उनी सुन्धारामा बस्छिन् । माइली छोरी भीमफेदीमा शिक्षिका र कान्छी छोरी अमेरिकामा स्टाफ नर्स छन्।

उनका जेठा छोरा ताहाचलमा बस्छन्, माइलो छोरा क्यानडामा । कान्छो छोरा बेलायतमा चिकित्सा पेसा गर्छन्। 

भनिन्छ, एउटा सफल पुरुषको पछाडि एउटी महिलाको हात हुन्छ । भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा सत्यमोहन जोशीको नामै काफी छ । यी विषयमा उनले बोले मात्र प्रमाण बन्छ । सत्यमोहनलाई यहाँसम्म ल्याउन राधादेवीको कस्तो भूमिका होला?

‘म कामको सिलसिलामा वर्षौंसम्म बाहिर बस्दा घरको सबै जिम्मा राधाले नै सम्हालेकी थिइन् । उनले मलाई कहिल्यै पनि कतै नजानू भनिनन्,’ सत्यमोहन भन्छन्, ‘यही कारण मैले निर्धक्क भएर आफ्नो काममा ध्यान दिन पाएँ।’

अहिले दिनहुँजसो सत्यमोहनका नाममा फोन आउँछन्, राधादेवीले नै उठाउँछिन् । श्रीमान घरमै भए फोन दिन्छिन्, नभए कहाँ हुनुहुन्छ, कहिले आउनुहुन्छ भन्ने खबर दिन्छिन्। 

चीनको बसाइ 

२०४० सालमा संस्कृतिविद् जोशी चीनको एक शैक्षिक संस्थानमा नेपाली भाषा पढाउन गएका थिए । एक वर्षका लागि गएका उनका सुरुवाती दिन ठिकै बित्दै थिए । केही महिना बितेपछि भने उनलाई त्यहाँको खानपान मिलेन । घरको खानाको सम्झना हुन थाल्यो । चिनियाँ खानामा नुनको मात्रा कम हुन्छ। 

स्वादिलो खाना खानकै लागि जोशीले पत्नीलाई चीन बोलाउने निधो गरे । जोशी भन्छन्, ‘त्यहाँको खानाले पेट भर्नै समस्या भएपछि सबै कागजात मिलाएर यिनलाई लिन आएँ।’ 

राधादेवी चार महिना चीनमा बसिन् । त्यहाँ खानबस्न सबै व्यवस्था त्यहाँको सरकारले गरेको थियो । श्रीमान्ले इच्छ्याएको खाना बनाउन उनी लागिपरिन् । नेपाली र नेवारी खानाका लागि आवश्यक सामान उनी आफैँ बजार गएर ल्याउने गर्थिन् । त्यतिबेला उनले केही चिनियाँ भाषा पनि सिकिन्। 

सम्बन्ध 

सत्यमोहन र राधादेवीको विवाह भएको ८३ वर्ष बितिसक्यो । अहिलेसम्म झगडा नपरेको राधादेवी बताउँछिन् । उनी भन्छिन्, ‘झगडा गर्नुपर्ने कुनै कारण परेन । कहिलेकाहीँ तनावमा हुँदा उहाँको झर्किने स्वभाव छ । तर म चुपचाप बस्छु।’ 

सत्यमोहनले राधालाई अझै पनि हत्तपत्ती नामले बोलाउँदैनन् । अलि टाढाबाट काम पर्यो भने, ‘सुन त’ भन्छन् । नत्र नजिक आएर बोल्छन् । आफ्नी श्रीमतीलाई किन नामले नबोलाएको होला ? नाम पनि राम्रो छ, राधादेवी। 

सत्यमोहन भन्छन्, ‘पहिले नाम नलिने चलन थियो, त्यस्तै बानी पर्यो।’

अहिले सानो दुर्घटनाले गर्दा राधादेवी सहज ढंगले हिँड्डुल गर्न सक्दिनन् । घरमा केही काम गर्नुपर्दा आफूलाई श्रीमान्ले सघाउने उनी बताउँछिन्। 

उनले भनिन्, ‘उहाँ बेलाबेला चिया खाने हो भनेर सोध्नुहुन्छ । खान्छु भन्दा बनाइदिनुहुन्छ।’                                 सोनि शही -Kathmanu Press 

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA