आईतवार, मंसिर ११, २०७९
/
'डायनकी छोरी' कथा सङ्ग्रह:एक पाठकीय समीक्षात्मक अनुभूति -केशव ज्ञवाली 'आगत'
४ असोज २०७९
  समिक्षक -केशव ज्ञवाली 'आगत'

'डायनकी छोरी' कथा सङ्ग्रह:एक पाठकीय समीक्षात्मक अनुभूति  

     -केशव ज्ञवाली 'आगत' 

२०४४\०४५ सालतिर शिक्षण पेसा र बसाइका क्रममा काभ्रेपलाञ्चोक जिल्ला,हालको मण्डनदेउपुर नगरपालिका अन्तर्गत कुन्ताबेसी क्षेत्रमा एउटा भद्र युवा व्यक्तित्वलाई भेटेको थिएँ।अहिले उनै कश्यपप्रसाद पौडेललाई 'डायनकी छोरी' कथा सङ्ग्रहमा कथाकार व्यक्तित्वका रूपमा भेट्ने अवसर मिल्यो ।शिक्षा,प्रविधि, स्वास्थ्य, समाजसेवा क्षेत्रमा क्रियाशील पौडेलको यो पहिलो कथा सङ्ग्रह हो।उनको 'आरनको आगो' तथा 'घायल मन' कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेका छन्।

'डायनकी छोरी' यस कथा सङ्ग्रह भित्रको उत्कृष्ट कथा हो।प्रतिनिधि कथाका रूपमा कथा सङ्ग्रहको नाम पनि यसबाट  नै जुराइएको छ।उसो त आफ्ना रचना सबै उत्तिकै प्रिय हुन्छन् भन्ने भावुक चलन पनि छ तर गुणदोषका आधारमा उत्कृष्टताको मापन गर्नु बढी न्यायोचित हुन्छ। विषयको सान्दर्भिकता,मानवीय अनुभूतिको तीव्रता , सिर्जनात्मक प्रतिभा,लेखनको मूढ र शिल्पपक्ष बढी मुखरित भएको बेला कदाचित रचनाले पनि उत्कृष्टता प्राप्त गर्छ  कि?

पृष्ठ संख्या २६५ उल्लिखित यस सङ्ग्रहमा २१ वटा कथाहरू समावेश गरिएका छन्।वरिष्ठ पत्रकार तथा कथाकार भैरवप्रसाद रिसाल र चलचित्रकर्मी  तथा साहित्यकार यादव खरेलका  संक्षिप्त समीक्षात्मक लेख, सिमल बुककी अध्यक्ष सिर्जना ढकालको प्रकाशकीय र कथाकारको लेखकीयसमेत  गरी अतिरिक्त थप आठ पृष्ठ पनि रहेका छन्। 

'डायनकी छोरी' कथाले नेपाली ग्रामीण समाज ,विशेषतःतराई क्षेत्रमा विद्यमान अन्धविश्वासको यथार्थ र कारुणिक चित्र प्रस्तुत गरेको छ।बुद्धिमान् र विवेकशील  भनिने  मान्छे र  वैज्ञानिक भनिने यस युगमा पनि 
बोक्सीको आरोपमा भूमा जस्ता निर्दोष, गरिब र अशिक्षित नारीलाई  मलमूत्र खुवाउने, शारीरिक र मानसिक यातना दिने ,समाजमा बहिष्कार गर्ने , गाउँ निकाला गर्ने जस्ता अमानवीय व्यवहार हुने गरेको तितो यथार्थलाई मर्मस्पर्शी रूपमा चित्रण गरिएको छ।भूमाले अचम्म  मानेर जमिन्दारको कुकुरलाई हेरेको कारणले  कुकुर बिरामी भएको र मरेको  हो भनी बोक्सीको आरोपमा उनलाई शौच खुवाई गाउँ निकाला गरिएको छ।विद्यमान अन्धविश्वास र त्यसलाई चुपचाप हेरेर बस्ने समाज, यस्तो अमानवीय र जघन्य अपराध पनि नदेख्ने कानुनका आँखाहरूमाथि पनि प्रश्न उठ्छ तर उत्तर सहजै भेटिँदैन ।
त्यसपछि श्रीमानसँगै  भारतमा गई जीविका निर्वाह गर्नु,उनकी छोरी स्मृति डाक्टर बन्नु ,आफ्नो गाउँ हेर्न नेपाल आउनु,जमिन्दारकै छोराको घरमा बस्नु, उनकी बिरामी  आमाको भारतमा लगेर उपचार गर्नु, भूमा स्मृतिकी आमा भएको थाहा पाउनु,विगतमा भूमामाथि गरिएको दुर्व्यवहारबारे बताउनु र माफी मागी पश्चाताप गर्नुले कथा रोचक र सन्देशमूलक पनि बन्न पुगेको छ।

'गोविन्द माड्साब' राजनीतिक परिवर्तनका निम्ति गरिएको सङ्घर्षको कथा हो।पञ्चायती व्यवस्थाको पतन र प्रजातन्त्रको आगमन(पुनर्बहाली)को राजनीतिक यथार्थ यसमा चित्रण गरिएको छ।'दुई पण्डितको कथा 'ले परिवर्तनका निम्ति जेलनेल भोग्दै महान् सङ्घर्ष  र त्याग गर्ने नेता र कार्यकर्ता पनि राजनीतिक परिवर्तनपछि आफ्नै महत्त्वाकाङ्क्षा चुलिएर जनताप्रति इमानदार बन्न नसकेको तितो तथ्यलाई औल्याएको छ।

'कल्पनाको घर' कथामा राजनीतिक परिवर्तनसँगै देशमा  आर्थिक परिवर्तन हुने र नेपाली  समाज समृद्ध बन्ने कल्पनाको सुन्दर चित्र  छ।कथाकारले सान्दाजुको चिन्तनको धरातलमा आर्थिक परिवर्तनका समृध्द गुराँसहरू फुल्ने सुन्दर  सपना देखेका छन्। 'फेरि बाटो खुल्यो' कथाले पनि सान्दाजुको चिन्तनमा आधारित समाजवादको सन्दर्भ उठान गरेको पाइन्छ तर वर्तमान नेपालका राजनीतिक पार्टीहरू मञ्चको भाषण र सत्ताको कुर्सीमा मात्र अलमलिएको देखिन्छ। तथापि राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति भएमा समाजवाद  र समृद्ध नेपालको निर्माण धेरै टाढाको कुरा होइन।

'जुराएको चिना' कथामा  चिना हेराएर गरिएको विवाह  पनि श्रीमान्को अकालमा  मृत्यु  हुँदा
विधुवा नारीले भोग्नुपर्ने पीडाहरू र 'मखमलीको दाइजो' मा नेपाली समाजको गरिबीको चित्रण गर्दै शिक्षा र परिश्रमद्वारा   समाजमा  परिवर्तन ल्याउन  सकिने  दृष्टिकोण अघि सारेका छन्।'फूलमती' कथामा गरिबलाई देखेर कुकुर पनि भुक्छ भन्ने घटना र चरित्रले मनमा चस्स घोच्छ। गाउँबेसीको  गरिबी र बेरोजगारीबाट मुक्ति पाउने रहर बोकेर सहर पसेका कतिपय युवतीहरू यौनजन्य क्रियाकलापमा संलग्न वा फस्न पुगेको घटनाले पोल्छ।गरिबी, अशिक्षा , राजनीतिक इमानदारीको अभाव र बढ्दो भ्रष्टाचार यी र यस्तै यावत समस्याका कारण  प्रमुख कारण हुन् भन्ने वास्तविकतालाई कथाले औँल्याएको छ ।

'मोर्निङवाकको साथी' 'छात्रावासको कौसी' 'तातो पानीको यात्रा' जस्ता कथाले कुनै गम्भीर सन्देश भन्दा पनि समाजमा देखिने प्रेमाकर्षण सम्बन्धी यथार्थलाई पस्केका छन्। श्रष्टाहरू कतिपय रचनामा समाजलाई दिशाबोध गर्छन् भने कतिपय रचनामा आफ्नो हित कुन कुरामा हुन्छ,पाठकहरू आफै निर्णय लिन स्वतन्त्र हुन्छन् भन्ने ठान्छन्।

'बाझिएको बाटो' कथा २०७२को भूकम्पको सन्दर्भ, तथा जातीय विभेदमा परेका रम्तेल जातिको कथा हो। कलकारखानाको विकाससँगै उनीहरूको पुर्ख्यौली पेसा सङ्कटमा परेको यथार्थ अन्तर्निहित कथा हो।  नेपालका परम्परागत कतिपय पेसा , व्यवसाय लोपोन्मुख अवस्थामा पुगेको वास्तविकतालाई कथाले उजागर गरेको छ।
'गौतम बाको जग्गा'मा भूमाफियाको बिगबिगी,'शहरका नव धनाढ्य'मा गाउँबाट सहर पस्ने सहरतिरै बस्ने, मोजमस्ती गर्ने र अभिभावकप्रतिको कर्तव्य र जिम्मेवारी बिर्सने वर्तमान नेपाली समाजमा बढ्दै गएको स्वार्थी प्रवृत्तिको यथार्थ चित्रण गरिएको छ।अचेल आमाबाबुको पसिनामा  विदेश पढ्न जाने, उतै बस्ने र आमाबाबुलाई चटक्क बिर्सने प्रवृत्ति पनि बढ्दो छ।अभिभावकले पनि हतार-हतार विदेश पठाउने तर जब उनीहरूले वास्ता गर्न छाड्छन्, त्यसपछि आफै   पछुताउने गरेको पनि देखिन्छ। 

कश्यपप्रसाद पौडेलका  कथाहरूमा 'म' पात्रको धेरै प्रयोग भएको देखिन्छ र निकै  सहयोगी पनि छ। उनका कथामा देशको  आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक तथा भौगोलिक  परिवेशको सजीव चित्रण गरिएको पाइन्छ। 

उनका कथामा कतै विगतको यथार्थ, कतै वर्तमानको अनुभव र कतै आगतको सुन्दर कल्पना गरिएको छ। नेपाली समाजमा विद्यमान जीवनका उकाली-ओराली , सङ्गति- असङ्गति र विसङ्गतिको चित्रणसँगै परिवर्तनको तीव्र आकाङ्क्षा पाइन्छ। परम्परागत कतिपय पेसा,असल मूल्य-मान्यताप्रति उच्च आस्था व्यक्त गर्दै तिनको संरक्षण, संवर्द्धनप्रति  चिन्ता र चासो व्यक्त गरिएको छ।गरिबी अशिक्षा र अन्धविश्वासका बीचमा पनि उनका  कथामा जीवनको सौन्दर्यबोध पाइन्छ। शिक्षा ,पुरुषार्थ र राजनीतिक इमानदारिताका आधारमा समृद्धिका सपनाहरू पूरा गर्न सकिने बलियो  चिन्तन छ।

उनका कथामा कतै सामान्य भाषा र कतै कतै कवितामय बिम्ब र प्रतीकहरूको सुन्दर प्रयोग पनि पाइन्छ। प्रकृति चित्रणमा कथाकारको दृष्टि र शिल्पपक्ष दुबै सशक्त छन्।  

 उनका कथामा पात्रको मनोवैज्ञानिक विश्लेषण भन्दा बढी घटनाको वर्णनात्मक शैली पाइन्छ।
आगामी कथा सङ्ग्रहमा पात्रको मनमा उत्पन्न हुने अन्तर्द्वन्द्व र मनोविश्लेषण गरिएका कथाहरू पनि पढ्न पाइने छ भन्ने अपेक्षा गर्दछु। अस्तु।

रुरुक्षेत्र,गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA